सञ्चारकर्मीमाथि भएको नकारात्मक टिप्पणी गम्भीर : महासंघ
सञ्चारकर्मी विरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्सायी बनाउने र असुरक्षित बनाउने महासंघको ठहर छ ।
‘महासंघ आफैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हो । तर, सामाजिक सञ्जालमा सञ्चारकर्मीहरु विरुद्ध आएका सामग्रीहरु अभिव्यक्ति स्वतन्त्रतामात्रै हो भनेर मान्न सकिने किसिमका छैनन् ।’ महासंघ महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्रै हो भनेर मान्न सकिदैन । शाहीको अभिव्यक्तिले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्म सम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा गराएको छ ।’
महासंघ कानुनी राज्यको वकालत गर्ने संस्था भएकोले अदालत र कानुनको उच्च सम्मान गर्ने स्पष्ट पार्न चाहन्छ भन्दै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।