भैँसीमा अनियमितता : सहिद परिवारका नामको दुहुनो भैँसी पूर्वमन्त्रीले मुस्कुराउँदै लगे, सहिद परिवार जिल्ल
काठमाडौं : प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।
पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका छन् । उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए ।
मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ । तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन् । सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन् । सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन् । पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन् ।
प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई दुहुनो गाई र भैँसी वितरण गर्ने भन्ने कार्यविधिको शीर्षकबाटै प्रस्ट पारेको छ । ‘मधेस आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैँसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ नाम दिइएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।
भैँसीमा अनियमितता