News

पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर, आक्रोशित सिसडोलवासी र प्रहरीबीच झडप, ११ पक्राउ

 कुनै पनि माग पूरा नगरेको स्थानीयको दाबी 

पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर, आक्रोशित सिसडोलवासी र प्रहरीबीच झडप, ११ पक्राउ

काठमाडौं । पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।

समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए । महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, कनकी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए । स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफारिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । 

स्थानीयको अवरोधका क्रममा झडप, ११ पक्राउ

शुक्रबारको सहमतिअनुसार महानगरले शनिबार बाटोमा रोकिएका फोहोर बोकेका ट्रकलाई डम्पिङ साइटमा पठायो, तर स्थानीयले अवरोध गरे । सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो । ‘फोहोर फाल्न अवरोध गर्ने ११ जनालाई पक्राउ गरेका छौँ । सामान्य झडप भएको हो,’ नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर अल्ली मगरले भने ।

स्थानीयले भने प्रहरीले लाठीचार्ज गर्दा चरी बलामी घाइते भएको बताएका छन् । स्थानीयको अवरोधका बीच बाटोमा रोकिएका ६० ट्रिप फोहोर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । स्थानीयले लिखित रूपमा छलफलका लागि नबोलाए अवरोध जारी राख्ने चेतावनी दिएका छन् ।

 कुनै पनि माग पूरा नगरेको स्थानीयको दाबी 

०६२ सालमा सिसडोलमा फोहोर फाल्न सुरु गरेपछि व्यवस्थापन सहयोग समिति बनेको थियो । रमणमणि घिमिरे नेतृत्वको उक्त समिति दुई वर्षपछि ०६४ मा विघटन भयो । त्यसवेला स्थानीयसँग सरकारले प्रत्येक वर्ष एक किलोमिटर शाखा सडक पिच गर्ने, २० शय्याको अस्पताल बनाइदिने, एम्बुलेन्स हस्तान्तरण गर्ने, विद्यालय बनाइदिने, स्वास्थ्य उपचार गरिदिने, स्थानीयलाई रोजगारीको अवसर दिनेलगायतका सहमति भएको स्थानीयको दाबी छ । तीन वर्षका लागि भनेर फोहोर फाल्न थालिएको सिसडोलमा पटक–पटक क्षमता बढाउँदै फोहोर फाल्दा पनि सहमति कार्यान्वयन हुन नसकेको स्थानीय दिवस श्रेष्ठले बताए । ‘पटक–पटक सहमति गर्ने अनि कार्यान्वयन नगर्ने भइरहेको छ । हामी पीडितको अवस्था उस्तै छ,’ उनले भने, ‘हामी दुर्गन्धमा बस्नुपरेको छ । रोग हामीलाई लाग्छ । तर, हाम्रो आवाज सुनिएन ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

फोहोर सिसडोल

विशेष