News

बालुवाखानीले दैनिक राजमार्ग अवरुद्ध : 'व्यवसायी खुसी, यात्रु हैरान'

बालुवाखानीले दैनिक राजमार्ग अवरुद्ध : 'व्यवसायी खुसी, यात्रु हैरान'

धादिङ । जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ।

पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा बालुवाखानीको लेदो सडकमा थुप्रिँदा पानी पर्ना साथ बजार जलमग्न हुन्छ भने सवारीसाधन घण्टौं जाममा पर्छन्। शनिबार पनि बालुवाखानीको लेदो सडकमा थुप्रिँदा बैरेनी बजार जलमग्न भयो। करिब सात घण्टा राजमार्ग ठप्प भयो। राजधानी काठमाडौं हिँडेका र राजधानी हुँदै पूर्व–पश्चिम यात्रामा निस्केका सवारीसाधन रोकिनु पर्‍यो।

सडकमा थुप्रिएको लेदो हटाउन नसक्दा यात्रुहरू घण्टौं जाममा बस्नुप¥यो। एकातिर यात्रामा हिँडेका यात्रु हैरान थिए भने अर्कोतिर बैरेनीका बालुवा व्यवसायी भने खुसी भइरहेका थिए। आफैंले स्काभेटर ल्याएर सडकमा थुप्रिएका बालुवा संकलन व्यवसायीलाई भ्याइनभ्याइ थियो। आफ्नो घरछेउमा थुप्रिएको बालुवा निकाल्न स्थानीय व्यवसायीमा हानथाप थियो।

‘माटो बगाएर सडकमा थुपारेको भए कसैले वास्ता गर्दैनथ्यो,’ एक स्थानीयले भने, ‘बालुवा थुपारेको भएर व्यवसायी आफैंले स्काभेटर ल्याई सडक खुलाएका छन्।’ बैरेनी बजारमाथि सञ्चालनमा रहेका खानीहरूबाट वर्षाको पानीसँगै बालुवा बगेर राजमार्गमा आउने भएका कारण स्थानीय बालुवा व्यवसायीहरू भने पानी पर्नासाथ चनाखो हुने गर्छन्।

बैरेनीबजारदेखि माथिल्लो क्षेत्रमा दर्ता नभएका १० भन्दाबढी बालुवाखानी सञ्चालनमा छन्। राजमार्ग छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडकभन्दामाथि खोलिएका बालुवाखानीका कारण भल–बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याइपुर‍्‍याउँछ, जसका कारण यात्रुलाई सास्ती भए पनि स्थानीयलाई भने फाइदा भएको छ। ‘आ–आफ्नो घरको खोल्सा र सडकमा थुप्रिएको बालुवा झिक्न यहाँका स्थानीयलाई तँछाडमछाड छ,’ बैरेनीका एक स्थानीयले भने, ‘घरैअगाडि लाख–लाख थुप्रियो भन्दै आफैं डोजर ल्याएर बालुवा संकलन गर्ने गर्छन्।’ यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

बालुवाखानी

विशेष