शाहीलाई दिएको यातनाबारे बोले डिआइजी
सुर्खेत । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही प्रहरीको यातनामा परेको भन्दै सडकदेखि सदनसम्म चर्को बहस भैरहेको छ । प्रहरीले जेठ १५ गते वीरेन्द्रनगरको खुलामञ्चबाट शाहीलाई पक्राउ गरेको थियो । त्यसपछि काठमाडौँ ल्याइएकोमा शाहीलाई चरम यातना दिएको भन्दै उनका समर्थकहरुले वीर अस्पताल घेराऊ गरेका थिए । तर प्रहरीले भने कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले बताउनु भएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा डीआईजी शाहले सुर्खेत र कर्णालीका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गर्ने शाहीलाई साइवर क्राईमका अभियुक्तको रुपमा कारबाही थालिएको बताउनुभयो । ‘शाहीलाई प्रहरीले यातना दिएको भनि आरोप लगाइएको छ । जुन तथ्यहीन, कपोकल्पित हो । ’ उहाँले बताउनुभयो ।
शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र महासंघ कर्णाली प्रदेशले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते नै पक्राउका लागि वारेन्ट जारी गरेको थियो । अदालतको पक्राउ पूर्जीपछि खोजतलासमा रहेका शाहीलाई जेठ १५ गते वीरेन्द्रनगरको खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो ।