चौकी कब्जा गर्ने विप्लवको प्रयास विफल
काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएरात चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमण गरेका छन् । विप्लवसमूहले चौकी आक्रमणको प्रयास गरेपछि सोलुखुम्बुमा उच्च सुरक्षा सतर्कता बढाईएको छ भने सुरक्षाकर्मीको टोलीले हवाई गस्तीसमेत गरेको छ ।
विप्लव समूहको आक्रमणबारेको सूचना अग्रिम पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको थियो । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरे ।
षड्यन्त्रपूर्ण प्रचारबाजी
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।
एक विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको हो ।
पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताइएको छ ।