पशुपतिनाथको धर्मसंस्कृति रक्षा गर्ने नेवारहरु विरुद्ध सदस्य सचिव ढकाल
काठमाडौं । विजय राजभण्डारीले छोराको व्रतबन्ध गर्न वैशाख २४ गतेको साइत जुराएका थिए । निम्ता गर्न कार्डसमेत छपाइसकेका थिए । पशुपतिनाथका भण्डारीका व्रतवन्ध गर्न पशुपति क्षेत्र विकास कोषको अनुमति लिनुपर्छ । अनुमति लिन व्रतबन्ध गर्नुभन्दा ३५ दिन पहिलो जानकारी दिनुपर्छ । यो रीत पनि पुर्याएका थिए तर कोषले अनुमति दिएन । ‘व्रतबन्ध रद्द गर्नुपर्यो, भण्डारीले सुनाए । कोषले कहिल्यै नभएको विवाद निकालेर व्रतबन्ध रोकिदियो ।’
कोषले भण्डारीको व्रतबन्ध रोकिनुको कारणचाहिँ बाबुआमाको बिहेमा सामान्य प्रक्रिया नमिलेको देखाएको छ । परम्पराअनुसार यहाँका भण्डारीले विवाह भित्र्याउँदा केही आचारसंहिता पूरा गर्नुपर्छ । नाबालाक भण्डारी हुन बाबुआमाको विवाहदेखि नै प्रक्रिया पुरर्याउनुपर्छ । पहिलो प्रक्रिया आफ्नो स्वजातिमा विवाह गर्नुपर्छ । विवाहमा पशुपतिमा बजाउने पञ्चेबाजा बजाउनुपर्छ । पञ्चेबाजा नभए अन्य बाजा बजाउँदा पनि हुन्छ । त्यसरी भित्र्याएको दुलाहादुलहीलाई घरको थकाली महिलाले सगुन दिन्छिन् । सफलताको कामना गर्छन । घरपरिवारसँग नाता जोडियो भनेर सुपारी दिने चलन छ ।
विजय दम्पतीले अरु सबै प्रक्रिया शुरु गरे तर मदिर परिक्रमा गरेनन् । २०६५ सालमा गोरखाधुवाकोटबाट बेहुली ल्याँदा रात पर्यो । त्यही भएर मन्दिर घुम्न पाएनन् दुलाहा दुलहीले । बाटामा दुर्घटना भएछ । त्यही कारण जन्ती तीन घण्टा एकै ठाउँमा रोकियो । आमा इन्द्रमाया भन्छिन्, ‘घर आइपुग्दा मध्यराति भएको थियो । त्यही भएर मन्दिर परिक्रमा गरिएन । अहिले यही कारण देखाएर व्रतबन्ध रोकिएको छ ।’
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल भन्छन्, ‘पशुपतिको भण्डारी हुने यहिँको चार किल्लामा जन्मेको हुनुपर्छ । तर भण्डारी र विसेट यहीँ जन्मेको हुनुपर्ने भएकोले उनीहरुको घरसमेत छुँदैनौं ।’
कान्तिपुर दैनिकबाट