News

मेयर शर्मासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मेयर शर्मासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मासहित ४ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । डिभिजन वन कार्यालय सप्तरीले राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको आरोपमा वन कार्यालयले मेयरसहितका ४ जनालाई तीन दिनअघि पक्राउ पुर्जी जारी गरेको हो । लिखित रुपमै आग्रह गर्दा समेत जनप्रतिनीधिले अटेर गरेपछि पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।  

 

डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेका ४ जना मध्ये वडा नम्बर १ का वडाध्यक्ष नारायण आचार्य पनि छन् । अन्य २ जना निर्माण समितिका पदाधिकारी रहेको डिभिजन प्रमुख सिंहले बताए । वडा अध्यक्ष आचार्य र उनका छोरा सुशिलकुमार आचार्यविरुद्ध डिभिजन वन कार्यालयले गत ४ पुषमा पहिलो पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरु सप्तकोशी नगरपालिका–१ स्थित अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न भएको वन कार्यालयको आरोप छ ।

 

डिभिजन प्रमुख सिंहका अनुसार आचार्यको ना ४ त १८४५ नम्बरको ट्रयाक्टर खोलाबाटै पक्राउ परेको थियो । पक्राउ गर्न पुगेका सुरक्षाकर्मीलाई दुव्र्यवहार गर्दै आचार्यले ट्रयाक्टर लिएर गएको उनको भनाई छ । वन क्षेत्रमा जेसिभी प्रयोग गरेर करिव १ सय मिटर लामो नाला निर्माण गरिएकोले लिखित रूपमै आफुहरुले काम रोक्न आग्रह गरेकोमा अटेर गरेपछि पुर्जी जारी गर्नुपरेको उनले बताए । विकास निर्माणका नाममा वन कर्मचारीको जागिर नै धरापमा पर्ने गरी जनप्रतिनिधिले काम गर्न थालेपछि आफु बाध्य भएर अदालतको आदेशमै पक्राउ पुर्जी जारी गरेको प्रमुख सिंहले जानकारी दिए । 

 

नगरपालिकाको विकासीय काममा वन कार्यालयले अवरोध गरेको सप्तकोशी नगरपालिकाका मेयर शर्माको आरोप छ । खोला नियन्त्रण गर्न निकासका लागि सुरु गरिएको नाला निर्माणको काम वन कार्यालयले नै रोकेको उनले बताए । वन कार्यालयको पटक–पटकको अवरोधका कारण विकास निर्माणका काम अवरुद्ध भएको उनले जानकारी दिए । 

सप्तरी उत्तमकुमार शर्मा

विशेष