लोकसेवाको विज्ञापनलाई लिएर राजपाबाट सरकारको ध्यानाकर्षण
काठमाडौँ । लोकसेवा आयोगले जेठ १५ गते आह्वान गरेको विज्ञापनलाई लिएर राष्ट्रिय जनता पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा राजपा सांसद् राजकिशोर यादवले संविधानका व्यवस्था कार्यान्वयन गर्न माग गर्नुभयो ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन संविधानसम्मत बनाउन र गिरिश चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले संविधानमा गरिएको व्यवस्था विपरीत आयोगले विज्ञापन आव्हान गरिएको भन्दै उहाँले सरकार कसले चलाएको छ भनि प्रश्न गर्नुभयो । “यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरु संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेको छ । ” यादवले बताउनुभयो ।
उहाँले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरीत भएको टिप्पणी गर्नुभयो । “जब यो संविधान सरकारले मान्दैन । जब यो संविधान अनुसार यो सदन परिचालन हुँदैन । जब यो संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन ।
व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाईन्छ समस्याहरु उब्जिन्छ । ” यादवको भनाई थियो ।
यादवले राष्ट्रलाई दीर्घकालिन रुपमा नोक्सान पुयाउने काम बन्द गर्न सरकारलाई सचेत गराउनुभयो ।