बजेटले गरिव जनतामा कुनै पनि उत्साह भरेन : पूर्व अर्थमन्त्री कार्की
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावना विपरीत बजेट ल्याएको दावी गर्नुभएको छ । नेता कार्कीले आर्थिक वृद्धिदर उच्च बनाउने, दिगो विकास लक्ष्य हासिल गर्ने, रोजगारीको अवसर सृजना गर्ने बजेटको लक्ष्य राम्रो भएपनि त्यसलाई प्राप्त गर्ने कुनै दृष्टिकोण पनि बजेटमा नभएको बताउनु भयो ।
नेता कार्कीले अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गईरहेका बेला कसरी आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सकिन्छ ? भनी सरकारलाई प्रश्न पनि गर्नु भयो । व्यापार घाटा भयावह बन्दै गएको, राजश्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पु¥याउने बजेटको लक्ष्य हासिल हुन नसक्ने उहाँको तर्क छ ।
सोमबार प्रतिनिधिसभामा सरकारले पेश गरेको ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व, र व्ययको आर्थिक अनुमान’ माथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता कार्कीले बजेटले गरिव जनतामा कुनै पनि खालको उत्साह भर्न नसकेको बताउनु भयो ।
नेता कार्कीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले भयावह अवस्थामा रहेको व्यापार घाटालाई कम गर्ने कुनै दृष्टिकोण र कार्यक्रम ल्याउन नसकेको आरोप पनि लगाउनु भयो । त्यसैगरी बजेटले आगामी आर्थिक वर्षमा ५ लाखलाई रोजगारी दिने उडन्ते कल्पना मात्रै गरेको काँग्रेस नेता कार्कीको भनाई छ । उहाँले ११ खरव भन्दा बढि व्यापार घाटा १० महिनायताको सरकारी तथ्यांकले देखाएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजाने बाटो सरकारले प्रस्तुत गरेको बजेटमा नदेखिएको पनि बताउनु भयो ।