ज्ञानेन्द्र शाहीलाई नियन्त्रण लिएकोमा सांसद्हरुको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीलाई सार्वजनिक समारोहमा बोल्दै गर्दा प्रहरीले पक्राउ गरेको भन्दै सांसद्ले विरोध गरेकी छिन् । सांसद पार्वती डिसी चौधरीले सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीलाई सार्वजनिक समारोहमा बोल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएर यातना दिने काम गरेको भन्दै अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुतिका साथै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो । प्रहरीले जेठ १५ गते वीरेन्द्रनगरको खुलामञ्चबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
शाहीले वैशाख १८ गते कृषि विकास मन्त्रालयको सभाहलमा भ्रष्टाचारसम्बन्धी एक कार्यक्रम गर्न खोजेको र उक्त कार्यक्रममा पत्रकारको उपस्थिति नभएको भन्दै फेसबुकमार्फत् पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालीगलौच गरेको भिडिओ सार्वजनिक गरेका थिए ।
एक अनलाइनले शाहीसँग लिएको अन्तर्वार्तामा उनले पत्रकारविरुद्ध अपशब्द प्रयोग गरेकाले पत्रकार महासंघका सुर्खेत जिल्ला शाखा अध्यक्ष गणेशकञ्चन भारती र कर्णाली प्रदेश समिति अध्यक्ष दुर्गा थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कारबाहीको माग गर्दै उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा सुर्खेत प्रहरीले विवादित अन्तर्वार्ता दिएका शाहीलाई वीरेन्द्रनगरको खुलामञ्चबाट पक्राउ गरेको थियो । उनलाई १५ गते नै सुर्खेतबाट काठमाडौं ल्याइएको थियो ।