महासंघलाई प्रकृति संरक्षण पुरस्कार
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सामुदायिक वन उपभोक्ता महासंघलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरेको छ । सामुदायिक वनका उपभोक्ताहरुले वन तथा वातावरण संरक्षण गरि बिश्वमा चिनाउन सफल भएको भन्दै सामुदायिक वनको प्रतिनिधिमुलक संस्था सामुदायिक वन उपभोक्ता महासंघलाई नास्टले प्रकृति संरक्षण पुरस्कार प्रदान गरेको हो ।
विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले मंगलबार ललितपुरमा एक कार्यक्रमबीच महासंघकी अध्यक्ष भारती पाठकलाई पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कार ग्रहण गर्दै महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले पुरस्कारले उपभोक्ताहरुको हौसला बढेको बताउनुभयो ।
जलवायु परिवर्तनबाट पर्न गएको असरलाई न्युनीकरणमा सामुदायिक वन उपभोक्ताहरुको योगदान ऐतिहासिक रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । साथै वन व्यवस्थापनमार्फत जैविक विविधता संरक्षणमा पनि सामुदायिक वनले उल्लेख्य भूमिका खेलेको सहभागीहरुको धारणा थियो ।