News

उपत्यकाका चौडा सडकमा अब ‘लेजर स्पिड गन’

उपत्यकाका चौडा सडकमा अब ‘लेजर स्पिड गन’

काठमाडौं । बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले एक सातापछि तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही हुने जानकारी दिए।

 

‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो। यसअघि प्रयोग भएको राडर स्पिड गन हो,’ उनले भने, ‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट सवारीसाधन गुडेको भन्ने विवरण पनि यसले दिनेछ।’ ट्राफिक महाशाखाले कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति पनि तोकेको छ।  


के हो लेजर स्पिड? 
ट्राफिक महाशाखाका अनुसार लेजर स्पिड गन विशेष खालको क्यामेराजडित उपकरण हो। यो दूरबिन आकारको हुन्छ, यसलाई ट्राफिक प्रहरीले सजिलैसँग हातमा लिएर सञ्चालन गर्न सक्छ । सञ्चालित गनले सडकमा आवागमन गर्ने सवारीसाधनको तस्बिरका साथै उसको गति नाप्न सक्छ । सवारीसाधनको दूरी पनि उपकरणले देखाउँछ । निर्धारितभन्दा बढी गुड्ने सवारीसाधनको गति सजिलै देखिने भएकाले उपकरण बोक्ने ट्राफिक प्रहरीले गति उल्लंघनको संकेत पाउँछ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

काठमाडौं लेजर स्पिड गन

विशेष