प्रतिनिधिसभा शून्य समयः आफ्नै डम्फू , आफ्नै ताल

प्रतिनिधिसभा शून्य समयः आफ्नै डम्फू , आफ्नै ताल

मंगलबारको प्रतिनिधिसभा बैठक शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 


सांसद मीनबहादुर विश्वकर्माले सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुँदैछ भन्ने आरोपलाई लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले साकार पारेको बताउनुभयो । उहाँले लोकसेवा आयोगको विज्ञापन खारेज गरी संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरी पुन प्रकाशित गर्न माग गर्नुभयो ।


सांसद मिनेन्द्र रिजालले संविधानसभा पदकको डिजाईन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपूर्ण संघर्ष र संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकृष्ट गर्नुभयो ।
सांसद यज्ञबहादुर बोगटीले जेठ १० गते अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा आगलागीबाट ७ वटा घर पूर्ण रुपमा नष्ट भएको, पशुंपक्षीलगायत नगद जिन्सी क्षति भएको भन्दै तत्काल पीडितलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भूतपूर्व गोर्खा सैनिकहरुले बर्षौदेखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गर्नुभयो ।


सांसद रंगमती शाहीले जेठ ७ गते तिब्बतको पात्लाकोटमा एक जना चिनिया महिलाको मृत्यु भएको र सो को छानविनका लागि हुम्लाका तेजबहादु थडेरालाई ताक्लाकोटको पुरुङ लगिएको तथा त्यसपछि कामदारलाई हुम्लामा लखेट्ने काम गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो 


सांसद राजेन्द्र प्रसाद लिङदेनले विगत तीन दशकदेखि बेलायती भूतपूर्व सैनिकहरु समान काम, समान ज्यालाको माग राखेर आन्दोलनमा रहेको भन्दै प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा सो समस्याको समाधानलाई निष्कर्षमा पुर्याउने विषयमा उचित पहल गर्न माग गर्नुभयो ।


सांसद लक्ष्मणलाल कर्णले वीरगञ्जमा उच्च अदालतको भवन निर्माण तत्काल सुरु गर्न सरकारसंग माग गर्नुभयो । उच्च अदालत भवन निर्माणका लागि सर्वोच्च अदालतले ७ विघाहा जग्गाको माग गरेको फाईल उद्योग मन्त्रालयले थन्काएर राखेको दाबी उहाँले गर्नुभयो ।

 
सांसद महेश बस्नेतले मुलुक धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले आफूमा निहित क्रिश्चियन धर्मविरोधी भूत हटाउन सांसदहरुलाई आग्रह गर्नुभयो ।
 

प्रतिनिधिसभा बैठक सर्वसत्तावादी

संम्बधित खबर

विशेष