संविधान संशोधनका लागि राजपाबाट रुलिङ माग
काठमाडौँ । संविधान संशोधनको माग गर्दै आइरहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि रुलिङ गर्न प्रनिनिधि सभाका सभामुख कृष्णबहादुर महरासँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख महराले राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न दिनुभएको थियो । त्यसक्रममा सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट ‘रुलिङ’ गर्न माग गर्नुभयो ।
उहाँले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १ सय २५ जनाले शहादत पाएको स्मरण गर्दै आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाई रहेपनि काम नहुँदा तराई मधेशका जनता अचम्ममा परेको बताउनुभयो । ‘ सभामुख महोदय, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हुँदै आएको छ तर मधेशी समुदायका १२५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ । ’ उहाको भनाई छ ।
शाहले लोकसेवा आयोगले संविधान र कानूनको उल्लङ्घन गरेर स्थानीय तहका लागि ठूलो सङ्ख्यामा पदपूर्तिको विज्ञापन गरेको आरोप लगाउनुभयो । ‘ लोकसेवा आयोगले संविधान र कानून उल्लंघन गरेर पदपूर्ति गर्न मिल्छ ? ’ उहाँले बताउनुभयो ।