नेकपा सचिवालय बैठक : बुधबार पनि निष्कर्षविहीन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को सचिवालय बैठक बुधबार पनि निष्कर्षमा पुग्न सकेन । बैठक विहिबारसम्म स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री तथा सांसदहरुलाई इञ्चार्ज दिन नहुने अडान राख्नुभएको थियो ।
नेपालको अडानमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो । यसबारे थप छलफल गर्न विहीवार विहान ९ बजे बैठक डाकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । छलफल सकारात्मक भएकाले ‘भोलि बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने छ ।’ प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
नेकपाले आज ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने जनाएको थियो तर सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीले यसअघि भइरहेको एकताका मापदण्डको आधारमा प्रस्तुत गर्नुभएको प्रस्तावमा बरिष्ठ नेता नेपालले असहमति जनाउनु भएको हो ।
दुई अध्यक्षबीच जिल्ला इञ्चार्ज र सहइञ्चार्जमा सहमति भएपनि सचिवालयमा रहेका नेताहरुले आपत्ति जनाउँदा कार्यबिभाजन प्रस्ताव पर धकेलिएको छ ।
नेकपामा पार्टी एकता भएको एक बर्ष बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन ।