News

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

काठमाडौं । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् । त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन् । छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन् । 

 

‘आमा सधैँ भुँइमा नांगै सुत्नुहुन्छ । सुत्ने लुगा पनि छैन । जाडोमा पनि यस्तै हो ।’ आमालाई हेर्दै जीवले भने, ‘सानो छु केही गर्न सक्दिनँ । छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ ।’ निर्मला उपचार खर्चको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए।

 

‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आगोमा परेछन्। सबै जलेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘जलेर कुहिएको खुट्टा गनाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भएको छ।’ उनी बुहारीले भोग्नुपरेको पीडाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि लडेकी, आज मर्नका लागि लड्दैछे।’ 

 

दिसापिसाब तर्काउन नसकेपछि अनि जलेको खुट्टा गनाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो। ‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँक्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’, सासू क्वारीले भनिन्। छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बिरामी परी। आठ वर्षको नाति छ। बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे गर्यो । यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 


 

निर्मला विक

विशेष