पिच भएको मूल सडक नै बिक्री !

काभ्रे । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ । जग्गा बिक्री गर्ने मीना भैल, धुनपा–७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाईपक्राउ गरिएको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीको उजुरी आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानमा मालपोत कर्मचारीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । २०७१ असार २ गते घरबाटो प्रमाणित गरेको कागजपत्रकै आधारमा मालपोतले ३ पटक जग्गा पास गरिदिएको हो । उक्त सिफारिसको कानुनी मान्यता ३५ दिनमात्रै हुन्छ । प्रहरीले मालपोतबाट आवश्यक कागजपत्र माग गरिएको जनाएको छ ।मालपोत अधिकृत विनोद कोइरालाले कागजपत्र पुगेर आएपछि पास गरिदिएको हुन सक्ने तर्क गरे । ‘कागजपत्र पुगेर आएकाले पास गरिदिएको हुन सक्छ, मालपोतको रेकर्डमा रैकर निजी भन्ने नै छ,’ कोइरालाले भने, ‘यो गम्भीर कुरा भयो, थप अनुसन्धानपछि मात्रै यसबारे भन्न सकिन्छ ।’
उक्त सिफारिसका आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलांगे मिजारले सोही जग्गा खरिद गरेका थिए । पुरानै सिफारिसका आधारमा दोस्रोपटक मोक्तान र मिजारले २०७३ वैशाख ७ गते ६ लाख ५० हजार मूल्य राखी भक्तपुर–१७ की मीना भैललाई बेचेका थिए । भैलबाट २०७५ असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले १२ लाख मूल्यांकन राखी २२ लाखमा खरिद गरेका हुन् । उनीहरूले मालपोतमा ४८ हजार राजस्व बुझाउँदै ५ हजार रुपैयाँ लिखतमार्फत खर्च गरेका थिए । जग्गा दलालको उक्त समूहले पटकपटक वडा नं. ४ कार्यालयबाट झुक्याएर घरबाटो सिफारिस लिन खोजेको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
बिक्री मूल सडक