News

मेयर चौधरी किन भए यति आक्रोशित?

मेयर चौधरी किन भए यति आक्रोशित?

काठमाडौं । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ नि?’

 

जवाफमा चौधरीले भने, ‘एक करोड हैन दश करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने ।’ यो त कानुन हातमा लिने काम भएन र भन्ने प्रश्नमा उनको जवाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’  

 

यो त कानुनलाई हातमा लिने काम भएन र भन्ने प्रश्नमा उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’ अन्तर्वार्तामा उनले आफू नेकपा कार्यकर्ता भएको उल्लेख गर्दै भनेका छन्, ‘नेकपाको कार्यकर्ता हो, द्वारिक चौधरी । प्रदेश नं १ को सदस्य । मेरो नेतालाई सुनाइदिनु होला तपाईँको कार्यकर्ता त जब्बर रहेछ । केपी ओलीलाई सुनाइदिनुस् । माधव नेपाललाई सुनाइदिनुस् । प्रचण्डसँग त अस्ति आइरहेछु हात मिलाएर ।’ आमसञ्चार माध्यमबाट कुनै व्यक्तिविशेषलाई तोकेरै सिध्याइदिने खुला धम्की दिइरहेका मेयर चौधरीप्रति पार्टी र राज्य संयन्त्रका तर्फबाट बुधबार बेलुकीसम्म कुनै कारबाही प्रक्रिया अघि बढेको जानकारी छैन । पत्रकार महासंघ सुनसरीको बुधबार बसेको बैठकले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारलाई पूर्ण रूपमा सुरक्षा अनुभूति नभएसम्म इटहरी उपमहानगरका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।


 
किन आक्रोशित भए चौधरी? 
नगरमा भएका अनियमितताका विषयलाई समाचारका रूपमा उजागर गर्दा चौधरीले आफूलाई आक्रमणको धम्की दिएको पत्रकार अनुपमले बताए । यसअघि अनुपमले फेसबुकमा पोस्ट गरेको साथीहरूसँगको फोटोमा प्रमुख चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेका थिए । त्यसबारे बुझ्न चौधरीलाई फोन गर्दा उल्टै धम्की दिएको अनुपमले बताए । सीएफएल बल्ब काण्डबारे सामाचार लेखेदेखि प्रमुख चौधरी आफूप्रति पूर्वाग्रही भएको उनको भनाइ छ ।

 

चौधरीले भने अनुपमलगायत केही पत्रकारले डेढ वर्षदेखि आफ्नो विरोधमा समाचार लेख्नुका साथै सामाजिक सञ्जालमा अनावश्यक कुरा लेखेर बदनाम गर्न खोजेको आरोप लगाए । ‘उनीहरूले केही दलालको पक्षपोषणमा यो मधेसको थारूको छोरालाई कुनै भिजनै छैन, यसले के गर्न सक्छ भन्दै अनेक गलत अफवाह फैलाउँदै आएका छन्,’ उनले भने, ‘जति सम्झाउँदा पनि विरोध गर्न नछाडेको र त्यसमाथि फोन गरेर अभद्र गाली गरेकाले नाकको हड्डी भाँचिदिने भन्न बाध्य भएँ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

द्वारिकलाल चौधरी विराट अनुपम

विशेष