मेयरलाई फौजदारी अभियोगमा कारबाही गर्न सांसदहरुको माग
लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै सांसदहरुको आपत्ति
काठमाडौँ । पत्रकारलाई धम्की दिएको भन्दै इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकालाल चौधरीलाई फौजदारी अभियोगमा कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसदहरुले पत्रकारलाई आक्रमण गर्न खुलेआम धम्की दिएकोप्रति खेद व्यक्त गर्दै कारबाहीको माग गरेका हुन् । सांसद सुजाता परियार, हीरा गुरुङले करोडौं रुपैयाँ खर्च गरेर पत्रकारलाई सिध्याउँछु भनेर धम्की दिने इटहरीका मेयरलाई कानूनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद सुजाता परियारले ‘राज्यको चौथो अंगको अवस्था त यस्तो छ भने आमसर्वसाधारणको अवस्था के होला ?’ भन्दै प्रतिप्रश्न गर्नुयभो । इटहरीका प्रमुखलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।
अर्की सांसद हीरा गुरुङले इटहरीका मेयरले पत्रकारलाई कुट्ने मार्ने भनेकाले उनलाई फौजदारी अभियोगअन्तर्गत कारबाही गर्न माग गर्नुभयो ।
‘मेयरलाई कानूनविपरीत बोल्दै हिँड्न राज्यले छुट दिएको छ ?’ गुरुङले प्रश्न गर्नुभयो ।
लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै सांसदहरुको आपत्ति
प्रतिनिधिसभाको विहीबारको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरे ।
सांसद लक्ष्मी परियारले संसदका कर्मचारीले ५० प्रतिशत भत्ता खाँदै आए पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मीचारीलाई किन एक वर्षदेखि भत्ता दिइएन भनी प्रश्न गर्नुभयाे ।
अर्का सांसद लालकाजी गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २० अर्ब ३६ करोड रुपैयाँ बेरुजु देखिएकोले त्यहाँको आर्थिक अनियमिताको छानबिन गर्न माग गर्नुभयाे ।
कांग्रेस सांसद सीतादेवी यादवले सामाजिक सुरक्षा भत्ताको सुविधा ७० वर्षको उमेरलाई घटाएर ६५ वर्षमा झार्नुपर्ने बताउनुभयो।
सांसद सुदन किराँतीले ब्रिटिसमा गोर्खा सेनाका हाम्रा अग्रजले नुनपानी र रोटी खाएर जीवन बिताएकाले न्याय र समानताको आन्दोलन गरिरहेको भन्दै उनीहरुले राखेको माग पूरा गर्नका लागि पहल गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।