News

सवारी दुर्घटनाका घाइतेको मृत्यु हुँदा परिवारले २८ लाख पाउने

सवारी दुर्घटनाका घाइतेको मृत्यु हुँदा परिवारले २८ लाख पाउने

काठमाडौं । अब सवारी दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ । विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ ।

 

सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बिमांक रकम बढाउने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बिमालाई संशोधन गरी बिमांक रकम बढाउन बिमा समितिलाई अनुरोध गरेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । 

 

मृत्युबापतको रकम बढाइँदै 
यातायात विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाअन्तर्गत मृत्यु वा उपचारबापतको रकम बढाउने भएको छ । समितिले मोटर दुर्घटनाका कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने तयारी गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । हालको व्यवस्थाअनुसार मोटर दुर्घटनाबाट मृत्यु भएमा ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यसअघि विभागले मेडिकल उपचारबापत ६ लाख रुपैयाँ पुर्‍याउनुपर्ने प्रस्ताव गरेको थियो । 

 

२८ लाख पाउने अवस्था
बिमा समितिले संशोधन गर्न लागेको मोटर बिमा योजनामा सवारी दुर्घटनाका कारणले मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचार गर्न १५ लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्थाअनुसार दुर्घटनाका कारणले मानिसको मृत्यु भएमा अधिकतम २८ लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्नुपर्नेछ । दुर्घटनाबाट मृत्यु मात्रै भएको अवस्थामा कम्पनीले १० लाख रुपैयाँ भुक्तानी गर्नेछ ।  यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सवारी दुर्घटना बिमा कम्पनी

विशेष