News

हावाबाट बिजुली बलेपछि मुस्ताङको चुमजुङबासी खुसी

हावाबाट बिजुली बलेपछि मुस्ताङको चुमजुङबासी खुसी

मुस्ताङ । लोमाङथान कटेपछि चार हजार दुई सय मिटर उचाइको हिमाली बस्ती ‘चुमजुङ’ एक वर्ष अघिसम्म अन्धकार थियो । सम्म परेका भूभाग, माटोको छाना, साना र साँधुरा कोठा रातमा उज्यालोको एउटा सहारा टुकीको धिपधिपे बत्ती मात्र हुन्थ्यो । कुल ३७ घर परिवार रहेको ‘चुमजुङ’ एक वर्षसम्म अघिसम्म सञ्चार सुविधा नपुगेको सो गाउँमा अहिले व्यापक परिवर्तन भएको छ । अहिले सबैका घर मात्र होइन बाटो र चोकमा पनि राती बत्ती झलमल छन् । फुस्रा र सुक्खा पहाडबीचको यो गाउँमा निरन्तर चलिरहने तीव्र गतिको सुक्खा हावाले दिक्क हुन्थे स्थानीय वासिन्दा । अहिले त्यही हावाबाट निकालिएको बिजुली वरदान भएको छ स्थानीयलाई । 


हावाबाट बिजुली बल्न थालेपछि गाउँमा फोनको सुविधा पनि सहज भएको छ । विद्यालयमा टेलिभिजन पनि जोडिएको छ । चुमजुङलाई समृद्ध बनाउने भनेर वडा सदस्य बनेकी सिचुङ गुरुङ जेठ लागेदेखि नै फुरुङ्ग छन् । बेलाबखत गाउँमा आउने नेता र केन्द्र सरकारको नेतृत्वले देखेको एउटा सपना आफ्नै गाउँमा साकार बनाउने अभियानमा सहभागी हुन पाएकामा उनी उत्साहित थिए । एकोहोरो सुसाइरहने हावा र पारिलो घाम उपयोग गरेर बिजुली बाल्न सकिन्छ भन्ने लागेको थिएन । तर एक वर्ष भित्रै गाउँमा एउटा टावर जोडियो, हेर्दा हेर्दै फिरफिर घुमिरहने पङ्खा पनि जोडियो, नजिकै घामतिर फर्काएर चिल्ला ठूला पाता (सोलार प्यानल) जोडिए । 


 
चुमजुङ मुस्ताङको सबैभन्दा उच्च स्थानमा रहेको हिमाली बस्ती हो । जहाँ प्रतिसेकेन्ड औसत आठ मिटरको गतिमा हावा बहन्छ । प्रकृतिको वज्रपात उच्च हिमपातका कारण गएको हिउँदमा आफूले पालेका करिब चार सय भन्दा धेरै भेँडा च्याङ्ग्रा गुमाएका स्थानीय अहिले प्रकृतिले दिएको तीव्र गतिको हावा र पारिलो घामको सदुपयोगबाट घरगाँउ झिलीमिली भएको देख्न पाएका छन् । गाउँका बासिन्दा बैठक बस्ने भवनमा पनि बिजुली जोडिएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

मुस्ताङ बिजुली चुमजुङ

विशेष