News

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षपछि मात्रै व्यावसायिक उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षपछि मात्रै व्यावसायिक उडान

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान हुन करिब एक वर्ष लाग्ने भएको छ । हालसम्म ७३ प्रतिशत भौतिक प्रगति भइसके पनि टावर निर्माण, नेभिगेसन उपकरण व्यवस्थापन, टर्मिनल भवनको साजसज्जालगायतका काम बाँकी रहेकोले निर्माण कार्य केही पर धकेलिँदा व्यावसायिक उडानको समय लम्बिएको हो । यसअघि यही असारमै परीक्षण उडान र असोजसम्म व्यावसायिक उडान हुने चर्चा गरिएको थियो ।

विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आगामी पुससम्म मात्र विमानस्थलको सम्पूर्ण निर्माण काम पूरा हुन्छ । निर्माण पूरा भएपछि मात्र आवश्यकता अनुसार परीक्षण उडान सुरु हुने उनले जानकारी दिए । परीक्षण उडान ठूलो कुरा होइन ।

'धावन मार्ग तयार भइसकेको छ, त्यसमा अहिले नै ‘लाइनिङ’ गरेर उडान गर्न सकिन्छ,' उनले भने 'तर उडान गर्ने जस्तो संवेदनशील कामका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्दा केही समय लाग्छ ।' अहिले नै परीक्षण उडान गरेर नियमित उडान गर्न धेरै समय लाग्यो भने त्यसले राम्रो सन्देश नजाने भएकाले सबै मापदण्ड पूरा भएपछि मात्र उडानको काम हुने उनले बताए ।

उनका अनुसार केही दिन अघि मात्रै एक विदेशी उडान कम्पनीले भैरहवामा परीक्षण उडानको आशयसहितको पत्र पनि लेखेको छ । तर निर्माणसम्बन्धी सबै काम पूरा भएर व्यावसायिक उडानको आधार तयार भएपछि मात्र त्यसको अनुमति दिने तयारीमा आफू रहेको उनको भनाइ छ ।

गौतम बुद्ध विमानस्थल

विशेष