भारतीय सेनाको भर्तीमा आर्थिक चलखेल : युवालाई रातभर होटलमा राखेर ३८ लाख असुलियो
नेपालगन्ज : २० जेठ मध्यराति नेपालगन्जको होटल वाटिकाबाट भारतीय सेनामा भर्ती गराइदिने भन्दै लिएको ३८ लाखसहित सात जनालाई प्रहरीले रंगेहात पक्राउ गर्यो।
घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं. कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नं. कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्यो। घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो।
‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना ब्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन्।
नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६–२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खान तलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको थियो।
भर्ती हुन आएका युवाले पैसा बुझाएपछि मोबाइल कब्जामा लिएको आशंका छ। पैसा बुझाउनेमध्ये धेरैले २/२ लाख दिएको बताएका छन्। कतिले तीन लाख त कतिले पाँच लाखसम्म पनि बुझाएका छन्। औसत तीन लाखका दरले हिसाब गर्दा ८५ जनाबाट मात्र कम्तीमा पनि दुई करोड ५० लाख रुपैयाँ असुलेको सहजै अनुमान गर्न सकिन्छ।
भोलिपल्ट बिहान ८ बजे हुने लिखित परीक्षको तयारी छोडेर वाटिका होटलको हलमा मध्यरातिको १२ बजेसम्म झन्डै चार पाँच सय युवाहरू रहेकाले सबै पैसा बुझाउन आएको आँकलन गर्न सकिन्छ।
परीक्षा दिएकामध्ये ४ सय ४७ जना मात्र पास भए। पास हुने सबैले तीन लाखका दरले बुझाएको भए पनि १३ करोड भन्दा बढी रकम असुलेको आँकलन गर्न सकिन्छ। ‘त्यो रात १० करोड रुपैयाँ उठाउने लक्ष्य रहेछ। एउटा गाडीसहित केही व्यक्ति भागेकाले सबै रकम समात्न सकिएन’, रानाले भने। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
भारतीय सेना