News

अंक थप्ने कर्मचारी र विद्यार्थी ८० हजार धरौटीमा छुटे

अंक थप्ने कर्मचारी र विद्यार्थी ८० हजार धरौटीमा छुटे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग लागेका तीनजना धरौटीमा रिहा भएका छन् । गोल्ड मेडलिस्ट बन्न १४ विषयमा अंक थप्न लगाउने सुरेन्द्रप्रसाद कोइराला, प्रथम श्रेणीमा उत्तीर्ण हुन अंक थपिएका केदार भट्टराई र अंक थपिदिने त्रिवि गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्य विशेष अदालतको आदेशमा धरौटीमा छुटेका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार थुनछेक बहसपछि तीनैजनालाई धरौटीमा छाड्न आदेश दिएको हो । कोइराला र कर्माचार्य जनही ८० हजार तथा भट्टराई ६५ हजार धरौटीमा रिहा भएका छन् ।

आदेशलगत्तै तीनैजना धरौटी बुझाएर रिहा भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्र खड्काले बताए । त्रिविको गोल्ड मेडल पाउन १४ विषयमा अंक थप्न लगाएका कोइरालाले एउटै विषयमा ५० अंकसम्म किनेका थिए । आफ्नो नम्बर थपेपछि उनले भट्टराईको प्रमाणपत्रमा पनि नम्बर थप्न बिचौलियाको काम गरेका थिए । कर्माचार्यले सिनामंगलस्थित नोबेल कलेजमा पार्टटाइम जागिर पाउने आसमा कोइरालाले भनेअनुसार अंक थपिदिएका थिए । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुरेन्द्रप्रसाद कोइराला

विशेष