चाबहिल–साँखु सडक : न बसी सुख, न उठी सुख

चाबहिल–साँखु सडक : न बसी सुख, न उठी सुख

काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निक्कै दयनीय छ । स्थानीयको विरोधपछि ठेकेदारले काम शुरु गरेको नाटक गरेपनि बर्षाको पानीपछि स्थिति विकराल बन्दै गएको छ ।  हिलो, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयले निकै सास्ती भोग्नु परिरहेको छ ।

सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडक छेउका पसलमा पूरै हिलो र पानी छ्यापेर विरुप बनाइदिने गरेका छन् ।  बौद्धका व्यापारी तथा बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले सडकको अवस्थाका कारण व्यापार घट्नुको साथै पसलका सामग्रीसमेत हिलोले काम नलाग्ने बनाएको भन्दै गुनासो गरे । 

घाम लाग्दा धुलो र पानी पर्दासडकमा जमेको पानी र हिलो यस सडकखण्डको विशेषता नै बनेको छ । जोरपाटीमा फेन्सी पसल चलाउँदै आएका लक्ष्मण दुलाल भन्छन्– “समयमा कालोपत्रे नहुँदा पसल पूरै धुलाम्मे हुने गरेको छ । अहिले पानी पर्दा सडकको हिलो उछिट्टिएर पसलसम्म आइपुग्छ । हिलो र धुलोले पसलमात्र होइन, स्वास्थ्यसमेत जोगाउन मुस्किल परेको छ ।”

दिनहुँ सडक प्रयोग गर्ने सर्वसाधारणको समस्या अझ कष्टकर  छ । सडकको हिलो पानी र पैदलसम्म हिड्न नसक्ने गरी जमेको पानीले हैरानीमा पर्ने गरेको उनीहरू बताउँछन् ।  सडकमा बिच्छ्याएको गिट्टी छरपष्ट छन् । कतिपय गाडी त बीच सडकका खाडलमै रोकिन्छन् भने दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिने गरेका छन् ।  यो सडकखण्डका यस्ता घटना दिनचर्या बन्ने गरेका छन् । २०७२ सालमा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम पनि सकिएको छैन ।

म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाएको भएपनि कामले गति लिनसकेको छैन । चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने सरकारी योजना छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बोलपत्र आह्वान गरेर चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका छन् । सडक निर्माणमा बिलम्व भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले गति लिनसकेको छैन ।

ठेक्का दिएको मितिदेखि अघिल्लो वर्ष आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनी भने सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्नेजस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् ।

सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएपछि मुआब्जाको प्रक्रियामा जाँदा सडक निर्माणमा अझै ढिलाइ हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको भनाइ छ ।  

चाबहिल–बौद्ध–जोरपाटी सडक

संम्बधित खबर

विशेष