News

मनसुन सक्रिय, बढ्दै बाढीपहिरोको जोखिम

मनसुन सक्रिय, बढ्दै बाढीपहिरोको जोखिम

काठमाडौं । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । 


‘काठमाडौँ उपत्यकामा पूर्ण बदली छ’ उनले थपे, ‘अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ ।’ उनका अनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै बुटवल भैरहवा क्षेत्रमा ६२ मिलिलिटर पानी परेको छ । त्यसपछि विराटनगर क्षेत्रमा ४२ मिलिलिटर, सिमरामा ३४ मिलिलिटर, दाङमा २१, नेपालगञ्जमा १७, काठमाडौँ उपत्यकामा १५, पोखरामा र ताप्लेजुङमा १३÷१३ मिलिलिटर पानी परेको छ । ‘मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो’ बासीले थपे, ‘यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ ।’ 

 

बाढी पूर्वानुमान महाशाखाले बढ्दो वर्षात्का कारण नदीको बहाव बढ्नाले तराईका केही क्षेत्रमा आकस्मिक बाढी आउने र डुबान हुनसक्ने जनाएको छ । महाशाखामा जलविज्ञ विनोद पराजुली र सुनिल पोखरेलसहित प्रभाकर यादव, सञ्जीव कर्माचार्य, दुर्गा घिमिरे लगायतका कर्मचारी निरन्तर नदीको सतह घटबढको अवलोकनमा जुट्नु भएको छ । भर्खरै बबरमहल सरेको महाशाखाको व्यवस्थापन भने लथालिङ्ग छ तर पनि बाढीको पूर्वसूचनालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिइएको छ ।  यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

मनसुन बाढीपहिरो

विशेष