News

ललितपुरमा साइकल लेन बन्दै

ललितपुरमा साइकल लेन बन्दै

ललितपुर । सवारीसाधनको बढ्दो प्रयोगसँगै उपत्यकाका सहरी सडकहरू साँघुरा लाग्न थालिसकेका छन् । पैदलयात्रा कठिन भएको छ । सडककिनार गाडी तथा मोटरबाइक पार्किङ स्थलजस्ता भएका छन् । ट्राफिक जाम त सहरवासीको आम समस्या भएको लामो समय भइसक्यो । जे होस्, सडक खनिज इन्धनबाट चल्ने सवारीसाधनको एकलौटीजस्तै भएको छ । यस्तो अवस्थामा सडकमा साइकल लेन सम्भव छ त? हामी धेरैलाई कताकता असम्भव जस्तो लाग्छ तर ललितपुर महानगरपालिकाले यसलाई सम्भव बनाउँदैछ । 


ललितपुर महानगरपालिकाले अहिले भएकै सडकमा साइकलका लेन व्यवस्थित गर्ने काम थालनी गरेको छ । ललितपुरको कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउन लागिएको हो । साइकल लेन निर्माणका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरिसकेको छ । कुपण्डोलदेखि लगनखेल र पुलचोकदेखि मङ्गलबजारसम्म साइकल लेन बनाउने योजनाअनुरूप बोलपत्र खोलिएको ललितपुर महानगरपालिकाका सूचना अधिकृत रुद्र गौतमले जानकारी दिए ।

 

ललितपुरलाई साइकल सिटीको रूपमा विकास गर्ने दीर्घकालीन योजनाअनुसार साइकल लेनको विकास गर्न लागिएको उनले बताए । उनका अनुसार ललितपुर महानगरपालिकाको सवारी व्यवस्थापन गुरुयोजना (एमटीएमपी) को एक अंगका रूपमा साइकललाई राखिएको छ । त्यसकारण साइकल प्रवद्र्धन गर्ने योजना महानगरपालिकाको रहेको छ । सूचना अधिकृत गौतमले भने, ‘सडक साइकलमैत्री नभए पनि मानिसले साइकल त प्रयोग गरिरहेका छन् । उनीहरूको सुरक्षाका लागि पनि लेन बनाउन जरुरी छ ।’ साथै नगरमा साइकल प्रयोगकर्ता बढुन् भन्ने उद्देश्य पनि यस योजनाभित्र रहेको उनको तर्क छ । साइकल लेन भएपछि थप साइकल प्रयोगकर्ता पनि प्रोत्साहित हुने महानगरपालिकाले जनाएको छ । 


भएका साइकल प्रयोगकर्ता र भविष्यका प्रयोगकर्ताको सडक सुरक्षाको दायित्वबोध गरी साइकल लेनको अवधारणा अगाडि आएको गौतमले जानकारी दिए । उनले भने, ‘वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न साइकल लेन बनाउने कदमको यो सुरुवात हो । यो निरन्तर आगामी वर्षहरूमा पनि अगाडि चल्नेछ ।’ महानगरपालिकाले साइकल प्रयोगसम्बन्धी कानुन नै बनाएर साइकल प्रयोगको प्रवद्र्धन र साइकलयात्री सुरक्षाका विषयलाई व्यवस्थित गर्न लागिएको सूचना अधिकारी गौतमले जानकारी दिए । ललितपुरको यो साइकल लेनको डिजाइन नेपाल साइकल समाजको प्राविधिक सहयोगमा तयार भएको हो । 

 

ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाह अहिलेको स्थितिमा साइकल लेन सञ्चालन गर्ने चुनौतीपूर्ण काम गर्न महानगरपालिका तयार भएको बताए । सडकको दुवैतिर १।२ मिटर चौडाइको साइकल लेन बनाइनेछ । चार इन्चको मार्किङ गरी ठाउँठाउँमा साइकलको लोगो र ट्राफिक चिह्न राखिनेछन् । यही लेनलाई जोड्दै ठाउँठाउँमा साइकल स्ट्यान्डहरू हुनेछन् । अहिले १० ठाउँमा साइकल स्ट्यान्ड बनाउने काम सुरु भइसकेको इन्जिनियर शाहले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

ललितपुर साइकल लेन

विशेष