News

छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक धरौटीमा रिहा

छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक धरौटीमा रिहा

सप्तरी । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।

 

सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पक्राउ परी थुनामा रहेका पशुपति र अदालतमा हाजिर भएका रामकृष्ण रु ६५ हजार धरौटी राखी तारेखमा रिहा भएका हुन् । जेठ २७ गते पक्राउ परेका पशुपतिलाई पुर्पक्षका लागि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेलगत्तै रामकृष्ण अदालतमा हाजिर भएका थिए ।

 

सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा यौन दुव्र्यवहार गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएकी थिइन् । धरौटीमा रिहा भएका आरोपित शिक्षकले भने आफूहरुले बाल यौन दुव्र्यवहार नगरेको बताएका छन् ।

 

यसैबीच सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।  

यौन दुव्र्यवहार सप्तरी

विशेष