नेपाल आज विशेष विदेश

गहिराई र उचाईको उत्कर्ष

गहिराई र उचाईको उत्कर्ष

शरीर बलिष्ठ, हेराईमा अर्जुन दृष्टि, कामयावी, साहसी, आक्रामक, लक्ष्यमा स्पात मात्र हैन, पशुपन्छीको अपार सोखी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चिन्नका लागि यस्ता थुप्रै विशेषता छन् । समकालिन विश्व राजनीतिका उनी यस्ता चमकदार, ग्ल्यामरस् खेलाडी हुन, जताबाट हेरेपनि उनको बहुआयामिक व्यक्तित्व झन्झन् फराकिलो हुँदै गएको छ । उनको जादूमय व्यक्तित्व जताततै पोखिएको छ । कहिले समुद्रका छालमा व्हेलसंग पौंठेजोरी खेलिरहेको भेटिने पुटिन कहिले माछा मारिरहेका भेटिन्छन् । कहिले हातमा बेल्चा लिएर निर्माणमा जुटिरहेका हुन्छन, त कहिले आफ्नै अति विलासी जहाजमा सयर गरिरहेका हुन्छन् । साहसी खेलका पर्याय यिनी जीवजन्तुसंग सामीप्य बढाउन अति लालायित छन् ।

उनले पालेको कुकुरले त कुटनीतिक विश्वमा समेत व्यापक चर्चा पाएको छ । विश्वका ठूला नेताहरुसंग भेट्को त्यो गोप्य बैठकमा त्यो कुकुरले अनिवार्य प्रवेश पाएको हुन्छ । घोडचढीका त उनी अब्बल सोखिन मानिन्छन् । यतिमात्र हैन कहिले शेर, भालुमाथि सवारीका विचित्र र रोमाञ्चक तस्वीर सार्वजनिक भएका हुन्छन् । कतै अवोध पशुपन्छीको सुसारे भएर प्रकट भएका यी राजनीतिक व्यक्तित्व कल्पनाबाहिरका प्र्राणी हुन् । जुडोका ब्ल्याकबेल्ट यिनी दिनहुँ जिमखानामा गएर शारीरिक अभ्यासमा व्यस्त हुन्छन् ।

  

त्यसैले त ६ अरब बढी मानिसको बास रहेको यो धरामा उनी शक्तिशाली राजनीतिक व्यक्तित्वको सर्वाधिक टपको सूचिमा परेका छन् । रुस प्राकृतिक सम्पदाको अपार खानी, औद्योगिक विज्ञान, विकासको अजस्र श्रोत भएपनि उचित राजनीतिक व्यवस्थापन नहुँदा रुस शक्तिहीन हात्तीजस्तो बन्न पुगेको छ । एक समय शक्तिका दृष्टिले विश्व दुई धु्रवमा विभाजित हुँदा एउटा धु्रवको नेतृत्व रुसले गरेको थियो । त्यो सत्य अहिले मिथक बनेको घडीमा सम्भावनाका लाखौं बाटा रहेका रुसमा प्राण भर्न भ्लादिमिर पुटिनको उदय भएको छ । विश्वका भिजन भएका नेताका लागि रुस देश आफैंमा ठूलो प्रयोगशाला हो । यो भूमिभित्र के छ भन्दा पनि के छैन, भन्ने हो । रुसमा रहेको साइबेरियाको जंगल प्रकृतिको यस्तो भूमि हो, जहाँ मानव पाइलाले आजसम्म त्यसको अन्त्य नाप्ने सामथ्र्य जुटाएको छैन् । 

पुटिन कामप्रति यति लगनशील र एकाग्र हुन्छन कि डिभोर्स दिएकी पत्नी लाउड मिलाले पत्रकार सम्मेलन गरेरै भनेकी थिइन– उनी काममा आशक्त हुने मानिस हुन । उनलाई आफ्नो कामको मात्रै ध्यान हुन्छ । परिवारलाई पटक्कै समय दिँदैनन् ।  पुटिनले सन् २०१४ मा सैनिक हस्तक्षेप गरेर युक्रेनको क्रिमियालाई रुसमा गाभ्न सफल भएका थिए । उनको अबको यात्रा गन्तव्य भनेको सोभियतकालिन रुसको प्रभूत्व र शक्ति फेरि आर्जन गर्नु नै हो । शितयुद्धपछिको लामो लामो समय रुस विश्वको अर्को शक्तिराष्ट्र अमेरिका  आबद्ध अधिकांश पश्चिमाहरुको संगठन नाटोसामू निरीह रह्यो । रुसी आदिवासीहरुको रक्षार्थ उनी आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।

सन् १९५२ मा पुटिनको जन्म हुँदा उनको पारिवारिक अवस्था अत्यन्त दुखदायी थियो । उनका बाबु आमा अहिलेको सेन्ट पिटर्सवर्ग तथा तात्कालिन लेलिनगार्डमा एक सार्वजनिक घरमा अन्य थुप्रै परिवारसंग बसेका थिए । पुटिनका बाबु कारखानामा मजदुरी गर्दथे भने आमा घरकै काममा व्यस्त हुन्थिन । तात्कालिन सोभियत संघमा धर्ममाथि प्रतिबन्ध लगाइएको भएपनि पुटिनकी आमाले लुकीलुकी छोरालाई अर्थोडक्स चर्च लग्थिन । पुटिन सानैदेखि झगडालु प्रवृत्तिका थिए । टोलका आफूभन्दा ठूलासंग झगडा गर्न तम्सिन्थे ।

झगडालु स्वभावका कारण उनले सानामा धेरैको कुटाई खाए । त्यसैले आत्मरक्षाका लागि उनले जुडो सिकेका थिए । सन् २०१५ मा एक सार्वजनिक कार्यक्रममा पुटिनले भनेका थिए– ‘५० वर्षअघि मलाई लेलिनगार्डको सडकले एउटा नियम सिकायो । यदि झगडा हुने परिस्थिति सिर्जना हुन्छ भने पहिला आफैँ पन्च हान्नुपर्छ ।’ सिरियाली शरणार्थी रुस छिरेको स्थितिलाई लक्षित गर्दै उनले यसो भनेका थिए । 

 पुटिन जहिल्यै सोभियत संघका पूर्व सदस्य राष्ट्रहरुलाई पश्चिमा विश्वको प्रभावबाट मुक्त राख्न चाहन्छन् । त्यसो त रुसी मिडियामा पुटिनका सकारात्मक पक्षका समाचार पनि उत्तिकै आउँछन्  । उनी दुर्लभ बाघहरुको संरक्षणमा लागेका छन् । आफ्ना कुुकुरहरुसँग अंगालो मार्दै हिउँ खेल्न निस्किएका उनका तस्विरहरु सामाजिक सञ्जालमा उत्तिकै रुचाईएका छन । उनी कुनै समय सोभियत संघको गुप्तचर प्रहरी थिए ।
 विश्वकै शक्तिशाली व्यक्तिको सूचिमा पहिलो स्थानमा रहेका पुटिन आफ्नो सम्पत्तिका विषयमा भने खुला छैनन् । उनको सम्पत्ति र दुई छोरीका विषयमा संसार अनविज्ञ छ । उनले छोरीका तस्वीर सार्वजनिक गरेका छैनन् ।   

सवै देशका राजनीतिक व्यक्तित्वलाई विशेष सुविधा दिने गरिन्छ । विश्वका शक्तिशाली नेताका लागि अझ यो खास हुन्छ । यस्तो सुविधा उपभोग गर्ने पुटिन पनि एक हुन् । उनी जति साहसी शक्तिशाली छन, उति भोग विलासी पनि । उनी कुटनीतिक सफलताभन्दा पनि सम्पत्तिका कारण चर्चित भएको भनेर आलोचना गर्नेहरुको कमी छैन । उनीसंग विश्वका महँगा महँगा ब्रान्डेड कम्पनीका विलासी गाडी ६० भन्दा बढी छन् । उनी चढ्ने जहाजको मूल्य ५० करोड डलर छ ।

यो जहाज जति महँगो छ, यसका सुविधा पनि त्यतिक्कै आकर्षक छ । विमानभित्र वास बेसिन सुनबाट बनाइएको छ । थकाई लाग्दा आराम गर्ने कक्ष पाँचतारे होटलको कोठाभन्दा सुविधा सम्पन्न छ । विछ्यौना मखमलीयुक्त छ । ओछ्यानबाट आकास देखिने झ्याल राखिएको छ । विमानभित्रै जिमखानाको व्यवस्था छ । विमानमा भान्सा कोठा छ, जहाँ पुटिन आफूलाई मनपर्ने खानेकुरा आफैं पकाएर खान्छन् । यो विमानमा विलासी सुविधा मात्र हैन, सुरक्षाको गतिलो व्यवस्था छ । खतरनाक हतियारसहितका कमाण्डो सेना पुटिनसंग रहन्छन् । 

 

 

विशेष