News

मौसमविद् भन्छन– अझै वर्षा रोकिन्न, होशियारी अपनाउनुस्

मौसमविद् भन्छन– अझै वर्षा रोकिन्न, होशियारी अपनाउनुस्

नेपालको तराईका भू–भागका साथै मध्य र पूर्र्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम विश्लेषणसम्बन्धी विशेष बुलेटिन निकाले मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।

मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्र्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ ।

पूर्वी र मध्यमा एक, दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पूर्र्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ । मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ ।

यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ ।

देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।


महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति निकाल्दै देशको खासगरी पूर्र्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । 

जल तथा मौसम विज्ञान विभाग

विशेष