News

नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री

नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री

काठमाडौं । एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ) को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो । मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ ।

 

एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो ।सर्टिफिकेटमा विश्वविद्यालयको रजिस्टर नम्बर ०१८–३–२–०११०१–२००४ उल्लेख छ भने विश्वविद्यालयका चान्सलरको हस्ताक्षर छ । तर, नाम भने उल्लेख छैन । उनी सन् २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ । बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर ००८ मा बिई उत्तीर्ण भएको सर्टिफिकेटमा देखिन्छ । 

 

प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालले शैक्षिक प्रमाणपत्रको सम्बन्धमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए । उनले भने, ‘प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान जटिल भएकाले यस सम्बन्धमा थप नबोलौँ ।’ एक्मी इन्जिनियरिङ कलेजका प्रधानाध्यापक प्रदीप पौडेलले भने तिलाहुन गन मुलुसेवा नाम गरेको विद्यार्थीले आफ्नो कलेजमा अध्ययन नगरेको बताए । उनले भने, ‘अध्ययन गरेको भन्दै एक विद्यार्थीले लिएको शैक्षिक प्रमाणपत्रमा एक्मी इन्जिनियरिङ कलेजको नाम उल्लेख भएको विषयबारे सोधपुछ भएको हो । उक्त नाम गरेको विद्यार्थी कलेजमा कहिल्यै अध्ययन नगरेको भन्दै हामीले पत्र लेखेका छौँ । पछि विश्वविद्यालयकै रजिस्ट्रारको इमेल नक्कली बनाएर संवाद भएकोसम्म थाहा पाएँ । यसबाहेक अरू थाहा भएन ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

नक्कली शैक्षिक प्रमाणपत्र अफ्रिकी नागरिक पूर्वाञ्चल विश्वविद्यालय

विशेष