News

बाढीबाट जोगिन रुख चढेकाको २४ घण्टापछि उद्धार

बाढीबाट जोगिन रुख चढेकाको २४ घण्टापछि उद्धार

सिरहा : कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका-२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।  

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो ।  दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो ।

प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए। गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए।  

छ सय परिवार विस्थापित वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। बाढीका कारण सिरहा नगरपालिका-६ बसपिट्टा, लहान नगरपालिका-१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ । 

विशेष