आइतबारसम्म देशका मध्य तथा पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ ।
सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ । मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ ।’ मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।
मौसमविद्हरूका अनुसार न्यूनचापीय रेखा दक्षिणबाट उत्तरतिर आउँदा नेपालमा वर्षा सक्रिय हुन्छ। नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउँछ। त्यसमा न्यूनचापीय रेखाहरू बनेपछि वर्षा सुरू हुन्छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराईको भूभागमागि अवस्थित छ। मध्य र पूर्वी भूभागसमेत न्यूनचापीय क्षेत्रमा रहेको छ। जसका कारण दुईतीन दिनसम्म मनसुन अति सक्रिय हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।
मौसम