पाका कम्युनिस्ट नेतृत्वसँगै दिक्क

पाका कम्युनिस्ट नेतृत्वसँगै दिक्क

काठमाडौं । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्ने पार्टी नेकपा नै हो । देशभरिका ज्येष्ठ नागरिकहरू अहिलेको नेकपा र तत्कालीन एमालेको यही गुन सम्झन्छन् । तर, पार्टीभित्रैका ज्येष्ठ नागरिक भने यतिखेर नेकपा नेतृत्वसँगै दिक्क छन् । उनीहरू रहने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको बेहाल छ । नेकपाले केन्द्रीय समिति, प्रदेश र जिल्ला तहको एकता टुंग्याइसकेको छ । पार्टीलाई महत्वपूर्ण  सल्लाह–सुझाब दिने विभाग मानिने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च भने कहिले बन्ने हुन्, टुंगो छैन । ‘एमाले–माओवादीको एकता प्रक्रिया सुस्त भएकै हो,’ नेकपाका पाका नेता अमृतकुमार बोहराले भने, ‘संगठनमा भूमिकाविहीन बनाइएको छ । अहिले एकीकरण तलसम्म हुन सकेको छैन । आशा गरौँ, तत्काल एकता होला ।’

 

मनमोहन अधिकारी नेतृत्वको सरकारले ०५१ मा पहिलोपटक वृद्धभत्ता सुरु गर्दा देशभरिका ज्येष्ठ नागरिकहरूमा उत्साह थपिएको थियो । पार्टीभित्र भने पाका नेताहरूलाई भूमिका नदिने प्रवृत्ति रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठले बताए । ‘पार्टीमा केन्द्रीय समितिको बैठकसँगै कार्यविभाजन हुन सकेको छैन । पोलिटब्युरो गठन भएको छैन, विभाग गठन भएका छैनन्,’ श्रेष्ठले व्यंग्यात्मक प्रतिप्रश्न गरे, ‘सल्लाह पनि नलिने र नसुन्ने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनमा नेताहरू किन लाग्थे?’ सल्लाहकार परिषद्मा बस्नुभन्दा पार्टीको सेल कमिटीमा बस्दा भूमिका हुने पुराना कम्युनिस्ट नेता नरेन्द्रजंग पिटरले बताए । 

 

सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चबारे छलफलै छैन
सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चबारे पार्टीमा छलफल नभएको तत्कालीन एमाले केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष केशव बडालले बताए । ‘हामीलाई राखेर सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको जिम्मेवारी कसलाई दिने र कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल नै भएको छैन,’ बडालले भने, ‘पार्टीको पोलिटब्युरो र अन्य विभाग पनि गठन नभएकाले ढिला भएको हुन सक्छ । आशा गरौँ छिट्टै टुंगो लाग्ला ।’ पार्टीको एकताले गति नलिएको तत्कालीन माओवादी केन्द्रका राष्ट्रिय सल्लाहकार परिषद् अध्यक्ष नन्दकुमार प्रसाईंले बताए । सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च दुई फरक संगठन बनाएर तत्कालीन एमाले र तत्कालीन माओवादीले एक–एकको नेतृत्व लिने सहमति हुन सक्ने प्रसाईंले बताए । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।  

ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता

संम्बधित खबर

विशेष