News

अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लियो

अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको हो । 

‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो,’ अख्तियारको सुरक्षा स्रोतले कान्तिपुरसँग भन्यो, ‘किन आउनुभयो भनेर सोधखोज हुँदा बयानका लागि भन्ने थाहा भयो ।’

बस्न्यात निकट एक कानुन व्यवसायीका अनुसार अख्तियारको टोलीले बस्न्यातलाई ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भन्ने उजुरी छानबिनका क्रममा ‘आयोगमा आइदिन’ अनुरोध गरेको थियो । ती कानुन व्यवसायीले भने, ‘त्यही क्रममा जानुभएको होला ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुखलाई भ्रष्टाचार आरोप छानबिनका क्रममा बयान गरेको यो पहिलो घटना हो । केही महिनाअघि आयुक्त राजनारायण पाठकमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बस्न्यातमाथिको बयान उनी अख्तियारको प्रमुख आयुक्त हुनुअघि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा विस्तारका क्रममा तयार पारेको प्रस्तावबारे हो ।

त्यही प्रस्तावमाथि निर्णय हुँदा १२ जना मोहीलगायत ‘भूमाफिया’ भनी किटान गरिएका व्यक्तिको नाममा जग्गा दर्ता भएको थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग दीप बस्न्यात

विशेष