News रोजगार

वैदेशिक रोजगारीमा सीपयुक्त युवामात्र, फर्किएकाको पनि अनिवार्य सीप परीक्षण

वैदेशिक रोजगारीमा सीपयुक्त युवामात्र, फर्किएकाको पनि अनिवार्य सीप परीक्षण

काठमाडौं : वैदेशिक रोजगारीमा जान चाहनेले अब तोकिएको क्षेत्रअनुसार न्यूनतम एक महिनाको सीप तालिम लिनैपर्ने भएको छ । सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भदौबाट सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने भएका हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन भदौबाट एक महिनाको सीप विकास तालिम अनिवार्य गरिएको हो । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानु पर्ने छ ।

वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जादा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था रहेको छ । यसका लागि वैदेशिक रोजगार विभाग र बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउदै यसका लागि प्राविधिक र भौतिक पूर्वाधारको काम गरिरहेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएपछि भदौबाट अनलाइन प्रणालीमार्फत तालिमको ट्र्याकिङसमेत गरिने भएको छ ।

व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । “अहिले म्यानपावर व्यवसायीले एक कामका लागि युवा भर्ना गर्ने र अर्को काम लगेर तोकिए अनुसारको पैसा नदिने समस्या रहेको छ,” महानिर्देशक भुसालले भने, “अब वैदेशिक रोजगारीमा अनिवार्य तालिमको कुनै विकल्प नै छैन ।”

विगतमा तालिमको व्यवस्था भए पनि तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने क्रम बढेको उनले बताए । अब भने सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) बाट तालिम लिए नलिएको, कक्षामा उपस्थित भए नभएको हेरेर सही भए मात्र प्रमाणपत्र दिने योजना बनाएको छ । “अहिले सरकारले तालिमका सम्बन्धमा बनाएको प्रणालीका कारण विगतमा जस्तो नक्कली प्रमाणपत्र बनाउन सक्दैनन्,” महानिर्देशक भुसालले भने, “तालिम प्रदायक संस्थासँग सरकारको बायोमेष्ट्रिक प्रमाण अनुसारको अनलाईन प्रणाली हुने भएका कारण तालिममा अनिवार्य उपस्थित हुन पर्छ ।”

यसरी तालिम लिएका युवाको परीक्षा लिने सीटीईभीटीअन्तर्गतको राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी) को परीक्षणप्रणाली समेत सरकारको प्रणालीमा जोडेर अनुगमन गरिने छ । विदेशबाट सीप सिकेर आएकाहरूले समेत सरकारले ताके अनुसारको सीप परीक्षण गरी प्रमाणपत्र लिएरमात्र विदेश जान पाउने छन् । यो खबर आजको कारोबारबाट लिइएको हो।

वैदेशिक रोजगार

विशेष