अपडेट : २२ जिल्लामा ४५ को मृत्यु, १० हजार विस्थापित [तथ्यांकसहित]
देशैभर जनजीवन प्रभावित
काठमाडौं : विगत केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।
गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रको तथ्यांकअनुसार हालसम्म २२ वटा जिल्लामा ४५ जनाको मृत्यु भएको हो। बाढी पहिरोमा परी २९ जना घाइते भएका छन्।
तथ्यांकअनुसार ललितपुर जिल्लामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। ललितपुरमा ७ जनाको ज्यान गएको हो। त्यस्तै, भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ।
केन्द्रको तथ्यांकअनुसार खोटाङ, काठमाडौं मकवानपुरमा ३/३ जनाको मृत्यु भएको छ। मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २/२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ।
बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। सिरहा जिल्लाबाट सबैभन्दा धेरै विस्तापित भएका छन्। सिरहामा ५ हजार, सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी विस्थापित भएका छन्।
अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ।
बाढी पहिरो