News

अख्तियारमा बस्न्यातको बयानः ‘प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेको हुँ’

अख्तियारमा बस्न्यातको बयानः ‘प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेको हुँ’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको बताएका छन्। आयोगलाई बयान दिने क्रममा बस्न्यातले ललितानिवासको जग्गा सट्टाभर्नामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मुख्यसचिव माधव घिमिरे, प्रधानमन्त्री निवास विस्तार गुरुयोजना र भूमिसुधार विभागबाट आएको टिप्पणी आदेश निर्णयका लागि आफूले ‘फरवार्ड’ गरिदिएको बताएका छन्। उनी २०६६ र २०६७ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव भएका थिए। बस्न्यातको यो बयानसँगै ललितानिवास जगा हिनामिना प्रकरणको अनुसन्धान नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालतर्फ पनि सोझिने देखिएको छ।

 

सचिव भएका बेला २०६६ चैत २९ गते बस्न्यातले हस्ताक्षर गरेको कागजातमा प्रधानमन्त्री निवास विस्तार, व्यक्तिका जग्गामा बाटो लैजान सरकारी जग्गा उपलब्ध गराउने, नक्कली मोहीलाई सट्टा भर्ना दिनेलगायत ७ वटा विषय उल्लेख छन्। यिनै विषयमा विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका बस्न्यात शुक्रबार साँझ आयोग कार्यालयमै पुगेर सरकारी जग्गा सट्टाभर्नासम्बन्धी विषयमा माथिबाट निर्णय भएकाले आफूलाई जोड्न आवश्यक नरहेको जिकिर गरेका हुन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान

विशेष