News

बाढीले रेलको लिक बगायो

बाढीले रेलको लिक बगायो

काठमाडौं । मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’ समेत बगाएको रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर–जनकपुर रेलमार्गमा पर्ने इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक नै बगाएको जानकारी दिए । 

 

सञ्चालनका लागि भार परीक्षणसमेत गरिसकिएको रेलमार्गको विभिन्न खण्डमा रेलको लिकमाथि भएर पानी बगिरहेको बताउँदै उनले रेलवे लिकमुनिको ‘बेस’समेत बगाएको जानकारी दिए । अहिलेसम्मको जानकारी अनुसार करिब आधा किलोमिटर रेलवे लिकको ‘बेस’ बगाएको र करिब चार सय मिटर रेलवे लिकमाथि पानी बगिरहेको जानकारी उनले दिए । 


त्यसैगरी, जनकपुर रेलवे स्टेसनसमेत डुबानमा परेको छ । वर्षाले रेलवे कर्मचारीहरूको आवासका लागि निर्माण गरिएको घरहरू, विभिन्न रेलवे स्टेसनहरू डुबानमा परेका छन् । क्षतिको थप विवरण आउने क्रममा रहेको महानिर्देशक मिश्रले जानकारी दिए । प्रतिकूल मौसमका कारण सबै क्षतिको विवरण संकलन गर्न समस्या भएको कर्मचारीहरूले बताउनुभएको छ । रेलवे परियोजनाका प्रमुख विनोदकुमार ओझाले जनकपुरदेखि पूर्वतर्फभन्दा पश्चिम बढी क्षति भएको बताए । 

 

भारतले निर्माण गर्ने
भारतीय सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो रेलमार्गमा बाढीका कारण भएका क्षतिको निर्माण भारत सरकारले नै गर्ने जानकारी महानिर्देशक मिश्रले दिए । उनले बाढी समाप्त भएको एक महिनाभित्रमा नै ‘बेस’ बनाएर पुनः लिक बिछ्याउन सकिने बताए । पाँच वर्षअघि बन्द भएको जयनगर–जनकपुर रेल सेवा पुनः सञ्चालनमा आउन लागेको छ । सन् १९३७ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि बन्द भएको थियो । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

रेलमार्ग जयनगर–जनकपुर रेलमार्ग अबिरल वर्षा रेलको लिक

विशेष