News

 दूरसञ्चार प्राधिकरणमा कसले मार्ला बाजी ?

 दूरसञ्चार प्राधिकरणमा कसले मार्ला बाजी ?

 नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष चयन पेचिलो हुने संकेत देखा परेको छ । प्राधिकरणको नयाँ अध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन गर्ने गरी आवेदन माग गरेसंगै १२ जनाले सो पदका लागि दाबेदारी प्रस्तुत गरेका थिए । अध्यक्षका लागि दौडमा रहनेमा केही सरकारी नेतृत्वमा रहेका उच्च अधिकारीहरु छन् । केही भने व्यवस्थापनका प्राध्यापक छन् । तर धेरैजसो गैर प्राविधिक क्षेत्रका व्यक्ति दूरसञ्चार क्षेत्रको नियामक निकायको अध्यक्षको दौडमा छन् । 


प्राधिकरणको अध्यक्षको दौडमा रहनेमा हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनालसहित दूरसञ्चार क्षेत्रको नेतृत्व सम्हालिसकेका हस्तीहरु छन् । दिगम्बर झाले राजिनामा दिएपछि रिक्त पदका लागि खुला आवेदन दिएर प्रस्तुतिकरण राख्नेमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य पनि छन् । एनसेलको व्यवस्थापनमा रहिसकेका रोहित रौनियारसँगै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि दौडमा अग्रपंक्तिमा देखिन्छन् । एउटा सरकारी निकायबाट अर्को सरकारी निकायमा जान उनले शक्तिकेन्द्रमा दौडधुप बाक्लो पारिरहेका छन् । 


नेपाल टेलिकमका पूर्व महाप्रबन्धक मधुसुदन कर्माचार्यले पनि अध्यक्षको दौडमा आफूलाई अघि बढाएका छन् । देशैभरका दूरसञ्चार नियामकको अध्यक्षको दौडमा गैर प्राविधिक पृष्ठभूमिका उम्मेदवारहरुले शक्ति केन्द्र धाइरहँदा अमेरिकामा लामो समय दूरसञ्चार क्षेत्रमा काम गरेका युवा उम्मेदवार पनि दौडमा अघि देखिएका छन् । भराइजन वायरलेस, एटिएनटी लगायतका दुरसञ्चार कम्पनी तथा सफ्टवेयर निर्माणमा दशक लामो अनुभव संगालेर नेपाल फर्किएका सूचना प्रविधि विज्ञ दीपकराज जोशीले पनि अध्यक्षका लागि दावेदारी प्रस्तुत गर्दै प्रस्तुतिकरण दिएका छन् । 
अध्यक्षको दौडमा अघि रहेका रेडियो नेपालका कार्यकारी निर्देशक कार्की अधिवक्ता हुन् । रेडियो नेपालमा दोश्रो कार्यकालको उत्तराद्र्धमा रहेका शक्ति केन्द्र निकट मानिने कार्की प्राविधिक विषयका जानकार भने हैनन् । प्राधिकरणको अध्यक्षमा ओली र प्रचण्डको स्वार्थ बाझिँदा अन्तिम तीन जनाको नाममा दुवै पर्ने सम्भावना देखिए पनि तेश्रो नाम कसको आउला भन्ने विषय रुचिको विषय बन्न पुगेको छ । 
मन्त्रीपरिषदबाट नियुक्त हुने अध्यक्षका लागि शुरुको चरणबाट तीनजनाको नाम गएपछि छनौट हुने प्रावधान छ । 


 

विशेष