News

फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ? तिर्नु पर्ला नि ५० हजार जरिवाना !

फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ? तिर्नु पर्ला नि ५० हजार जरिवाना !

काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्नेछ । महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपैयाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । 

 

अब बाटोघाटोमा फोहोर छोडेर फुत्कनेलाई पनि यही सीसीटीभीमार्फत पक्रने छ । त्यति मात्र होइन, निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही गरिने छ । महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका अनुसार अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिन्छ । 

 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान सिंहका अनुसार आर्थिक वर्ष २०७६÷७७ को सुरुबाटै महानगरका सबै दोबाटो, चौबाटोमा सीसीटीभी जडान हुने छ । अहिले पनि फोहोर जथाभावी फ्याँक्नेलाई कारबाही नभएको भने होइन । कार्यान्वयन विभाग प्रमुख सापकोटाका अनुसार तीन लाख रुपियाँ जरिवाना शुल्क महानगरपालिकाले उठाएको छ ।


 
नियमअनुसार एक हजारदेखि ५० हजार रुपियाँसम्म महानगरपालिकाले जरिवाना गर्न सक्छ । यसलाई अझ प्रभावकारी बनाउँदै सर्वसाधारणमा सार्वजनिक स्थानमा फोहोर थुपार्न हुन्न भन्ने सजगताका लागि पनि सीसीटीभी जडान गर्ने योजना तयार भएको हो । ‘प्रहरी र महानगरपालिकाले संयुक्त रूपमा यो कारबाही अगाडि सार्दा फोहोर गर्नु पनि अपराध हो भन्ने कुरा अब झल्काउँछ’, प्रमुख धनपति सापकोटो भने । 

 

हालै मात्र डिल्लीबजार पीपलबोटमा फालिँदै आएको फोहोरलाई व्यवस्थापन गरी यहाँ फोहोर फाल्न निषेध गरिएको छ । यो स्थानमा फोहोर फ्याँक्दै आएकाले यही स्थानबाट एक सय मिटर आसपास ढकाल आलुप्याज सेन्टर, वसन्तेश्वर महादेव र सामुन्नेको शिव पराजुली किराना पसलअगाडि फोहोर थुपार्न थालेका छन् । जाडोमा खास्टोभित्र फोहोरको पोको राखेर, मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर र वर्षादमा छाताको डन्डीमा फोहरको पोका गुथेर खुसुक्क बाटोमा फाल्ने प्रवृत्ति अझै हटेको छैन । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 
 

फोहोर सीसीटीभी

विशेष