News

तरकारीले ढाड सेक्यो

तरकारीले ढाड सेक्यो

काठमाडौं । दैनिक उपभोग्य तरकारीको भाउ गतवर्ष यो बेलाको तुलनामा थोकमै ३५५ प्रतिशतसम्म महँगिएको छ । गत बिहीबारदेखिको लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि तरकारीको भाउ आकासिएको हो ।

लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकासिएको व्यापारी बताउँछन् । लगातारको वर्षाका कारण महँगिएको तरकारीको भाउले गर्दा उपभोक्तालाई मात्रै होइन, व्यापारीलाई समेत समस्या भएको व्यापारी बताउँछन् ।

कालीमाटीका थोक व्यापारी रमेश गतवर्ष यही समयमा धार्नी र ढकमा तरकारी किन्न आउने ग्राहक अहिले केजीमा मात्रै भाउ सोध्न आउने गरेको अनुभव सुनाए । 'देशका ठाउँ–ठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैन, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन', उनले भने ।

कलङ्कीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्ने आएकी कल्पना घिमिरेले तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर चकित भइन् । उनले भनिन् ‘के तरकारी किन्ने भन्ने नै अन्योल भयो, के किन्ने महँगो उतिकै छ त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ, के किन्ने खै !’ वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुगेका नवराज पौडेलले महँगोमा पनि राम्रो तरकारी नपाएको गुनासो गरे ।

एक सय रुपियाँ मुस्किलले एक किलो तरकारी किन्न सकिन्छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर, विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिलसेनाले पसलै पिच्छे तरकारी र फलफूलको भाउ फरक हुँदा पनि यसको सरकार निकायबाट कुनै अनुगमन नहुनु विडम्बना भएको बताए। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

तरकारी

विशेष