News

पशुसँगै सुत्छन् बाढीपीडित

पशुसँगै सुत्छन् बाढीपीडित

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि देखिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् । पीडितहरू विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या भएको छ ।


बालबालिकालाई पनि उत्तिकै पीडा छ । त्यसमा पनि गाईबस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने त्रास बढ्दो छ । विस्थापितको बासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो । विस्थापितले एक सयभन्दा बढी गाईभैंसी, बाख्रा विद्यालयमा बाँधेका छन् । त्यहीँ नजिकै विस्थापितले चुलो बनाएका छन् । तर खाद्यान्न अभावमा धेरैको चुलोमा आगो बलेको छैन ।


लगातारको वर्षापछि आएको बाढीले सबै वडा डुबानमा परेको गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले बताए । ‘यति नै क्षति भयो भन्न सक्ने अवस्था छैन,’ उनले भने,  ‘सबैभन्दा बढी २ नम्बर वडाका ४ सयभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूलाई खाद्यान्नलगायतको जोगाड गर्दै छौं ।’ गाउँपालिकाले चिउरा, चाउचाउलगायत खानेकुरा सहयोग गरेको छ । अन्य खाद्यान्न पनि दिने तयारी भइरहेको साहले जानकारी दिए । बाढीबाट विस्थापितको पुनःस्थापनाका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

 

अहिले डुबेका घरमा पानी घटेको छ । तर त्यत्तिमै घर जान विस्थापितलाई डर लागेको छ । फेरि बाढी आउने पो हो कि भन्ने त्रास रहेको पीडित बताउँछन् । त्यसैले केही समय स्कुलमै बस्ने उनीहरूको भनाइ छ । स्कुलमा पानीको समस्या छ । विस्थापित सबैले एउटै धाराबाट काम चलाउनुपर्छ । कष्टले बसेका छौं । सधैं गाउँपालिकाले खान देला भनेर कसरी बस्नु?’ स्थानीय हरेन्द्र सहनी भन्छन्, ‘ज्यान त जोगाइयो, अब खान र बस्नको समस्या छ ।’ सहनीको ८ जनाको परिवार स्कुलमा शरण लिई बसेको छ । पानीको सतह बढेर घर डुब्न थालेपछि ३ छोरा, ३ छोरी, श्रीमती र आफू साथै भागेर ज्यान जोगाएको उनले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

रौतहट बाढीपीडित पशु

विशेष