१८ वर्षपछि बन्यो शहीद नेपाली छात्रावास
तनहुँ । तनहुँको व्यासनगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । वि.सं २०५८ मा जग खन्न शुरु गरिएको उक्त छात्रावास भवनको यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । वि.सं २००७ मा बन्दीपुर क्रान्तिमा जेल परेका चन्द्र नेपालीलाई जेलबाट निकालेर राणाहरुले हत्या गरेपछि उनको संस्मरणमा छात्रावास निर्माण शुरु गरिएको शहीद चन्द्र नेपाली छात्रावास समितिका अध्यक्ष दोबाटे विश्वकर्माले जानकारी दिए । ‘छात्रावास भवनको निर्माणकार्य थालिए पनि आर्थिक अभावका कारण लामो अवधि बिताउनुपरेको थियो’, अध्यक्ष विश्वकर्माले भने, “ढिलै भए पनि शहीदको सपनालाई साकार गर्न सकिएको छ ।”
क्याम्पसको साढे दुई रोपनी क्षेत्रफल जग्गामा करीब रु ७० लाखको लागतमा १५ कोठे भवन निर्माण गरिएको अध्यक्ष विश्वकर्माले बताए । सोही क्याम्पसमा अध्ययनरत २० दलित, जनजाति र अभिभावक नभएका छात्रालाई मात्रै छात्रावासको व्यवस्था मिलाइएको छ । छात्रावास भवन निर्माणका लागि तत्कालीन भौतिक आवास मन्त्रालयअन्तर्गतको साना शहरी विकास, जिल्ला समन्वय समिति, व्यासनगरपालिका, सांसद कोष, राष्ट्रिय दलित आयोगलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेका थिए । अध्ययनमा लगनशील भएका, निम्न आय भएका, ग्रामीण भेगबाट पढ्न आएका, अभिभावक संरक्षकत्व नभएका छात्रालाई प्राथमिकतामा राखेर छात्रावासको प्रबन्ध मिलाइएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए ।
उनीहरुलाई खाना बनाएर खुवाउनका लागि एक कर्मचारीलाई छुट्टै तलब दिएर राखिएको छ । क्याम्पस प्रमुख हड्खलेले भने, ‘गाउँ सेवा कोष, भारतीय राजदूतावास, विश्वविद्यालय अनुदान आयोग, अन्य विभिन्न सङ्घसंस्थालगायतबाट प्राप्त सहयोगबाट छात्रावास सञ्चालनमा सहज भएको छ ।’ छात्रावास ३० जना क्षमताको भए पनि आन्तरिक व्यवस्थापन बाँकी रहेका कारण अहिले एउटा कोठामा दुई÷दुईका दरले २० छात्रा राखिएको छ । छात्रावासको आन्तरिक व्यवस्थापन बत्ती, पानी, शौचालय निर्माणपछि अन्य १० छात्रालाई पनि व्यवस्था मिलाइने होस्टल इन्चार्ज कल्पना लम्सालले जानकारी दिइन् । रासस
तनहुँ शहीद नेपाली छात्रावास