News

बाढीको कहर : बच्चाको भोकमा भक्कानिँदै अभिभावक

बाढीको कहर : बच्चाको भोकमा भक्कानिँदै अभिभावक

रौतहट । दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ ।

‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भने, 'हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै !'

उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् ।

दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् ।

चारैतिरको जलमग्न पानीले ६ दिनदेखि घेरिएका उनीहरुको अस्थायी बसोवास भएको स्थानमा पानीको सतह घटेसँगै प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोली पुगेको छ । पीडितले मंगलबारदेखि केही राहत पाएका छन् ।

बागमती तटबन्धमा अस्थायी बसोबास गरेका उनीहरुले दैनिक मजदुरीसमेत गर्न पाएका छैनन् । चुनाबको बेला भोट माग्न आउने नेताहरु बाढीको बेला कता हराए भनेर उनीहरु पत्रकारलाई नै प्रश्न गर्छन् ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रौतहटमा यसपटकको वर्षा र बाढीले ४० हजार घरपरिबार विस्थापित हुँदा तीन लाख मानिस प्रभाबित भएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले अधिकर र साधन सम्पन्न पालिकाले बाटो मात्र बनाउने हैन विपद्को पूर्वतयारीसमेत गर्नुपर्ने बताए । उनले दीघकालीन सोचका साथ कार्य अघि बढाएमा मात्र रौतहट डुवानबाट जोगिन सक्ने बताए । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो।

बाढी पहिरो

विशेष