मुम्बई हमलाका मुख्य योजनाकार पाकिस्तानमा पक्राउ
इस्लामावाद । भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार भनिएका हाफिज मोहम्मद सईदलाई पाकिस्तान प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तानको पञ्जाव राज्यस्थित आतंकवाद निरोधी विभागको एउटा मुद्दामा गिरफ्तारीबाट बच्नका लागि जमानत लिन गइरहेको समयमा उनी पक्राउ परेका हुन् ।
पक्राउलगत्तै उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको अधिकारीहरुले जनाएका छन् ।
सईद सन् २००२ मा प्रतिबन्धित आतंकवादी संगठन लस्कर ए तोयबाका संस्थापक हुन् । भारतले उनी मुम्बई हमलाका मुख्य योजनाकार रहेको दावी गर्दै आएको छ । सन् २००८ मा भारतमा भएको मुम्बई आक्रमणका बेला १६० बढीको मृत्यु भएको थियो ।