नेकपाभित्र प्रमुख बन्ने भागदौड
काठमाडौं : पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो । यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ ।
पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वाधिक चर्चामा छ । संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिएका छन् ।
संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहेका छन् । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ ।
महाधिवेशनअघि पार्टी संगठनमा पकड जमाउन संगठन विभाग प्रमुखको भूमिका निर्णायक हुने भएकाले पनि अध्यक्षद्वयले नै संगठन विभागको प्रमुखमा आफू निकटका नेताहरुलाई ल्याउने गृहकार्य नेकपाभित्र सुरु भएको छ ।
पार्टीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधव नेपाल रहने सहमति भएको बताइएको छ भने अध्यक्ष विभागको प्रमुखमा भागवण्डा अनुसार दुवै अध्यक्षले व्यक्तिको नाम टुंगो लगाउने गृहकार्यमा रहेका छन् ।
नेकपा