दुई सय चेलीबेटी बेचबिखनका आरोपी वडाध्यक्ष छुटे
जिल्ला अदालतबाट ३७ वर्ष जेल सजाय उच्च अदालतबाट सफाइ
काठमाडौं । चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका तामाङलाई उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजलासले सोमबार सफाइ दिएको हो ।
सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीको आधारमा नुवाकोट प्रहरी कार्यालयले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
भारतमा बेचिएर फर्केका महिलाले सुनबहादुरसहित तीन जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए । पहिलोपटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो । २०५१ सालमा नुवाकोट जिल्ला अदालतले उनलाई ६ वर्ष कैद तोकेको थियो । त्यसपछि प्रहरीले उनलाई ‘फरार’ सूचीमा राख्यो । फरार सूचीमै रहेकै बेला सुनबहादुरले २०७४ वैशाखमा स्थानीय चुनावमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट उनले वडाध्यक्ष जिते ।
२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालत नुवाकोटको मुद्दालाई सदर गरेको थियो । त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो । तर, उनी जेल गएनन् । पछिल्ला मुद्दामा काठमाडौं अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी अघिल्लो आदेशका आधारमा जेल चलान भएका थिए ।
फरार सूचीमै रहेको अवस्थामा भारतको बम्बईमा बेचिएका तीन महिला नेपाल फर्केर उनीविरुद्ध उजुरी दिएका थिए । तामाङले दिल्ली र मुम्बईमा वेश्यालय सञ्चालन गरी त्यहाँ नेपालबाट लगिने चेलीलाई काममा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतबाट भागेर आएका युवतीले जाहेरी दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो । पीडितको उजुरीको आधारमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । पीडितको उजुरीको आधारमा तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई वटा मुद्दा दर्ता भएको थियो ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा सुनबहादुरले बेचिएका महिलालाई बकपत्र दिन जानसमेत रोकेका थिए । कतिपय त बुबाको मिलेमतोमा समेत बेचिएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । सुनबहादुरले जागिर लगाइदिएको भनेर तलबबापत वार्षिक रुपमा १०–१२ हजार रुपैयाँ ल्याएर दिने गरेका थिए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।