News

पाइपलाइनबाट आउन लाग्यो तेल, मोतिहारीबाट छाडिएको डिजेल आज साँझ अमलेखगन्ज

पाइपलाइनबाट आउन लाग्यो तेल, मोतिहारीबाट छाडिएको डिजेल आज साँझ अमलेखगन्ज

काठमाडौं : पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो ।

बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्नेछ । आइओसीको अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाइएको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए । ‘अमलेखगन्जका लागि पाइपबाट डिजेल छाडिएको छ,’ उनले भने । 

पाइपलाइनबाट आउने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याइने छैन । ‘डिजेल पाइपमै राखिनेछ,’ यादवले भने, ‘उद्घाटनको दिन मात्र भल्ब खोलेर डिजेल पाइपबाट भण्डारणगृहमा पठाइनेछ ।’ पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको छ ।

यादवका अनुसार पटनास्थित आइओसीको पटना रिफाइनरीबाट भने मंगलबार बिहान मोतिहारीका लागि डिजेल पठाइएको थियो । पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर डिजेल छाडिएको थियो । यस्तो अवस्थामा पाइपको तल्लो भागमा पानी रहने भएकाले डिजेलमा समेत मिसिएको हुन्छ । त्यसैले मोतिहारीमा रोकेर शुद्धीकरण गरेपछि मात्रै अमलेखगञ्ज पठाइएको यादवले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

पाइपलाइन

विशेष